निजगढ विमानस्थल निर्माण कार्यलाई शीघ्र अघि बढाउन संसदीय समितिको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७९, १६ जेष्ठ

काठमाडौं, १६ जेठ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई शीघ्र अघि बढाउन सरकारका नाममा निर्देशन जारी गरेको छ ।

सोमबार बसेको समिति बैठकले कानुनी बाधा हटाएर विमानस्थल निर्माण शीघ्र अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

समितिको बैठकले सरकारलाई दिएको निर्णयमा भनिएको छ, ‘राष्ट्रिय हित, सुरक्षा, र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई शीघ्र अघि बढाउन आवश्यक कानुनी, प्रशासनिक र व्यावहारिक कार्य गर्नू ।’

राष्ट्रिय हितअनुकूल अर्थतन्त्रलाई सुदृढ तुल्याउने उद्देश्यका साथ लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने भन्ने निर्णय कुनै दृष्टिकोणबाट उचित नहुने जनाइएको छ ।

सर्वोच्च अदालतले हालै मात्र निजगढ विमानस्ल निर्माण नगर्न आदेश दिएको थियो । सर्वोच्चको बृहत पूर्ण इजलासले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए ऐन, कानुन र विधिशास्त्रीय मान्यता अनुसार उपयुक्त विकल्प खोज्न परमादेश दिएको थियो ।

प्रतिक्रिया