चालक दलका सदस्यसहित २२ जना सवार तारा एअरको विमान यस्तो अवस्थमा भेटियो
अखबार टुडे
प्रकाशित:
२०७९, १६ जेष्ठ

काठमाडौं, १६ जेठ । आइतबार विहान बेपत्ता भएको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ । उनले स्थानीय शेर्पाहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेको बताए ।
प्रतिकूल मौसम र कठिन भूगोलका कारण ठूलो हेलिकोप्टर पुग्न नसक्ने भएकाले सानो हेलिकोप्टर दुर्घटनास्थलमा पठाउने तयारी भइरहेको उनको भनाइ छ ।

यार्सागुम्बा संकलकले फेला पारेका थिए दुर्घटनामा परेको जहाज आइतबार बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी कल साइन भएको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको थियो । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।

आइतबार दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । सोमबार बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको थियो ।

तारा एअरले भन्यो, हामी स्तब्ध छौँ

विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेपछि कम्पनी स्तब्ध भएको जनाएको छ ।

तारा एयरले सोमबार बिहान विज्ञप्ति जारी गरी १४ हजार ५०० फिटको उचाइमा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको हो । जहाज दुर्घटनाको जानकारी गराउँदा स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार फिस्टेल एयरको ९ एन एजेआर हेलिकोप्टर आज बिहान ८ः१० बजे दुर्घटनास्थलमा अवतरण गरेर जहाज दुर्घटनाको पुष्टि गरेको थियो ।

त्यसअघि नै यार्सागुम्बा संकलनमा गएका स्थानीयले जहाज दुर्घटना भएको अवस्थामा फेला पारेका थिए । उनीहरुले पठाएको जहाज दुर्घटनाको फोटो र सूचनाको आधारमा सुरक्षाकर्मीसहित उद्धारकर्ताको टोली परिचालित भएको थियो ।

खोज तथा उद्धारमा नेपाली सेना, एयर डाइनेष्टी, कैलाश हेलिकोप्टर र फिस्टेल एयरको हेलिकोप्टर परिचालन गरिएको थियो ।
आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो ।

नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाज दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका सात सदस्य पनि परेका छन् । क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएको जहाजमा कोपाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् ।

पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । सोमबार बिहानैबाट पुनः खोजी थालिएको थियो ।

प्रतिक्रिया