काठमाडौं, १५ जेठ । पोखरादेखि मुस्ताङ जाने क्रममा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको छ ।
मौसम खुल्नासाथ खोजीकार्यका लागि पुनःहेलिकप्टर परिचालन गरिने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
‘खोजीका लागि पठाइएको हेलिकप्टर खराब मौसमका कारण फर्किएको छ, काठमाडौँदेखि नेपाली सेनाको हेलिकप्टर पनि आउँदैछ, खोजीका लागि सबै उपायसहित तयारी अवस्थामा छौँ’, उनले भने ।
उनले अहिलेसम्म पनि जहाज सम्पर्कविहीन अवस्थामै रहेको उल्लेख गरे । टुकुचे र धवलागिरि क्षेत्र आसपासबाट विमान सम्पर्कविहीन भएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ भने तल्लो मुस्ताङको घाँसा, लेते, कोवाङ आसपासका क्षेत्रमा खोजी कार्यलाई केन्द्रित गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
उक्त विमान पोखराबाट आज बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको थियो । पच्चीस मिनेटको यात्रापछि अवतरण हुनुपर्ने जहाज अझै सम्पर्कका आउन सकेको छैन । जहाजमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ ।