गणतन्त्रको थप विकासका लागि सबै राजनीतिक दल र जनताको सहयोग आवश्यक छ : प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०७९, १५ जेष्ठ

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताएका छन् ।

आइतबार १५औँ गणतन्त्र दिवशको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानमार्फत संस्थागत भएको गणतन्त्रको थप विकासका लागि सबै राजनीतिक दल र जनताको साथ र सहयोग आवश्यक हुने बताए ।

२०६२÷०६३ को जनआन्दोलन र राजनीतिक क्रान्तिले मुलुकमा गणतन्त्रजस्ता राजनीतिक उपलब्धि प्राप्त भएको भन्दै हाल देशमा प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली स्थापित भएको उनको भनाइ छ ।

स्वतन्त्र र सार्वभौम देशका नागरिक भएको र जनताले चुनेका निर्वाचित प्रतिनिधिबाट शासन प्रणाली सञ्चालन हुनु गर्वको विषय भएको उनले बताए ।

हालै स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न भएको र यसै वर्ष प्रदेश र संघीय संसदको निर्वाचन पनि गरिने प्रधानमन्त्री देउवाको भनाइ छ ।

उनले नागरिक अधिकार प्राप्तिका लागि भएका राजनीतिक क्रान्तिमा सहादत प्राप्त गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गरे । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसहित देशका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया