बालेनले भने- यो हाम्रो सुरूवात हो, ५ वर्षमा भिजन पूरा हुन्छ
अखबार टुडे
प्रकाशित:
२०७९, १३ जेष्ठ

काठमाडौं, १३ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह (बालेन्द्र)ले आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्णरूपमा कार्य कार्यान्वयन गर्ने छन् ।

शुक्रबार बिहान निर्वाचन अधिकृत कार्यालयद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा साहले आफूले निर्वाचनको परिणामलाई एउटा सुरूवातको रूपमा लिएको बताए ।

उनले भने– ‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं । निर्वाचनको परिणाम जुन आएको छ । यसलाई हाम्रो विजयभन्दा पनि हाम्रो कार्यको सुरूवात हुनेछ । अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ ।’

काठमाडौं महानगरलाई नै एउटा परिवारको रूपमा लिएको उनले बताए । ‘काठमाडौं महानगर परिवारको रूपमा रहेको छ । सधै परिवार नै थियो र परिवारनै रहनेछ’ उनले भने ।

काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने उनले प्रतिवद्धता गरेका छन् । उनले भने– ‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं ।’

प्रतिक्रिया