काठमाडौं, १२ जेठ । सर्वोच्च अदालतले पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला उल्ट्याएको छ ।
दुई वर्षअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले घटाएको रञ्जनको सजाय सर्वोच्चको पूर्ण इजलासले उल्ट्याएको हो ।
कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासको यो फैसलापछि कारागारबाट रिहा भएका कोइराला अब उनी २० वर्ष नै जेलमा बस्नुपर्ने छ । यसअघि उनी ८ वर्ष ६ महिना कैदमा बसिसकेको कारण अब उनले बाँकी ११ वर्ष ६ महिना जेलमै बिताउनुपर्ने भएको छ ।
पत्नी गीता ढकालको हत्यामा संलग्न रही प्रमाणसमेत नष्ट गर्ने प्रयत्न गरेका कोइरालालाई तत्कालीन अपराध महाशाखाको प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले हत्या ठहर गर्दै कोइरालालाई २० वर्ष जेल सजायको फैसला सुनाएको थियो । त्यसविरुद्ध उच्च अदालत पुगेका कोइरालालाई उच्च अदालतले पनि २० वर्ष नै जेल सजाय गर्ने ठहर गरेको थियो ।
त्यसपछि सजाय धेरै भएको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका कोइरालालाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सजाय बढी हुने भन्दै ८ वर्ष ६ महिना मात्रै कैद सजाय गर्ने फैसला गरेका थिए । सो फैसला लगत्तै कोइराला कारागार कार्यालय डिल्लीबजारबाट रिहा भएका थिए ।
कोइरालाको सजाय घटाउने क्रममा प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको इजलासले अभियुक्तलाई गरिएको २० वर्षको कैद सजाय चर्को पर्न जाने चित्तमा लागेको भन्दै उनलाई ८ वर्ष ६ महिना मात्रै कैद सजाय गर्ने गरी सजाय घटाएका थिए । त्यसविरुद्ध अदालतमा पुनरावलोकनको निवेदन परेपछि सर्वोच्चले पुनरावलोकनको निस्सा दिएको थियो ।
उक्त रिटमाथि बिहीबार सर्वोच्चको पूर्ण इजलासले सजाय घटाउने सर्वोच्च अदालतको फैसला उल्टी गर्दै उच्च अदालतकै फैसला सदर गरेको हो ।
कोइरालाले गीताको हत्या गरी उनको शव २०६८ साल पुष २७ गते राती मकवानपुरको टिष्टुङमा लगेर जलाउने प्रयास गरेका थिए । शव जलाउँदै गर्दा मानिसहरु आएपछि उनी शव पूरा नजल्दै त्यहाँबाट भागेर काठमाडौं फर्किएका थिए ।
त्यसपछि २०६८ माघ ८ गते पुनः शव जलेको स्थानमा पुगेका उनलाई स्थानीयले पक्रेर प्रहरीलाई बुझाएको भएपनि उनी आफू टिस्टुङ घुम्न आएको र बहालवाला डीआईजी रहेको भन्दै त्यहाँबाट निस्किएका थिए । त्यहाँबाट काठमाडौं आउने क्रममा कोइरालालाई नागढुङ्गामा पक्राउ गरिएको थियो ।