देउवालाई ओलीको पश्न- नेपाल एक चीन नीतिमा छ कि छैन ?
अखबार टुडे
प्रकाशित:
२०७९, १२ जेष्ठ

काठमाण्डौं, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफ्नो परराष्ट्र नीतिमा अडिग नभएको बताएका छन् ।

संसदमा बोल्दै ओलीले नेपालको परराष्ट्र नीति अहिलेको गठबन्धन नामको पासा फ्याँकेर ल्याएको सरकारले ल्याएको नीति भन्दै व्यङ्ग्य गरेका हुन् ।

वर्तमान सरकारलाई अस्थायी सरकार भन्दै नेपालको परराष्ट्र सम्बन्ध म्यादी सरकारको निजी विषय नभएको पनि उनले बताए । नेपालको परराष्ट्र नीतिले निम्त्याउन सक्ने जोखिमको बारेमा सरकार सचेत नभएको पनि उनले आरोप लगाए ।

विदेशी मन्त्री आउँदा सरकार थुरथुर काँप्ने गरेको भन्दै परराष्ट्र नीतिसँगको व्यवहारले नेपाली अखंडताको रक्षा कसरी गर्न सकिन्छ भन्दै ओलीले प्रश्न गरेका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्न गर्दै भने, ’सरकारले छद्म नीति लिएको देखियो, हामी एकातिर एक चीन नीतिमा छ भन्छौँ । नेपाल हाम्रा छिमेकीहरुसँग मुखले एउटा कुरा र व्यवहारमा अर्को कुरा गर्ने गर्छन्, नेपाल एक चीन नीतिमा छ कि छैन ?’

यस्तै, अध्यक्ष ओलीले ‘वाइडबडी प्रकरण’बारे अनुसन्धान गरेर कारवाही गर्न पनि सरकारलाई चुनौती दिएका छन् । ओलीले वाइडबडी मात्र नभएर बालुवाटार जग्गा प्रकरण र यति प्रकरणको पनि छानविन गरेर कारवाही गर्न चुनौती दिए ।

छलफलका क्रममा ओलीले भने– ‘वाइडबडी, बालुवाटार जग्गा र यति प्रकरणमा एमालेले भ्रष्टाचार गरेको आरोप लाग्ने गरेको छ । म यो संसदबाटै चुनौती दिन चाहन्छु– यी प्रकरणहरुमा छानविन गरेर कारवाही गर्न सरकारलाई चुनौती दिन्छु । सरकारले सक्छ भने कारवाही गरेर देखाओस ।’

ओलीले आफूमाथि भ्रष्टाचारको आरोप लाग्ने गरेको भन्दै प्रमाणित गर्न समेत चुनौती दिएका छन् । एक टेलिभिजन अन्तवार्ताको क्रममा पत्रकारले सोधेको प्रश्नप्रति चित्त दुखाउँदै ओलीले भने– ‘देशका लागि आफ्ना सम्पूर्ण सम्पति दान गर्ने मैले कहाँ भ्रष्टाचार गरे ? यदि, मैले भ्रष्टाचार गरेरेको कसैसँग प्रमाण भए यही संसदमा पेस गर्न चुनौती दिन्छु ।’

ओलीले नेपाल आयल निगमको विकल्पमा निजी क्षेत्र ल्याउन सरकार आफैं मोटो रकमको चलखेलमा लागेको पनि उनले पनि आरोप लगाए ।

उनले भने, ‘आयल निगम ध्वस्त बनाएर त्यसको खर्बौंको व्यापारमा निजी क्षेत्र घुसाउन खोजिंदैछ । यसका लागि मोटो रकमको चालखेल भइसकेको छ, हुनेवाला छ भन्ने बजार हल्ला छ ।’

आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला समेत झुक्याएर एउटा समूह त्यो कार्यमा लागेको स्मरण गर्दै ओलीलले पछि थाहा पाएपछि त्यसलाई निष्क्रिय बनाएको उनको दाबी थियो । इन्धन जस्तो अत्यवश्यक वस्तुमा निजी क्षेत्रले हड्ताल गरिदिए के हुन्छ भन्दै उनले निजीकरणको विरोध गरे ।

अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका लागि पहिलो आयोजना सकिएको र अन्य क्षेत्रमा पनि काम भइरहेको भन्दै उनले सहजतातर्फ अघि बढेको पेट्रोलियम पदार्थको कारोबार निजीलाई सुम्पिएर देशलाई खोक्रो बनाउन खोजिएको उनको आरोप थियो ।

प्रतिक्रिया