पल शाह प्रकरण: थुनछेक सुनुवाइ स्थगित
अखबार टुडे
प्रकाशित:
२०७९, १२ जेष्ठ

काठमाडौं, १२ जेठ । नाबालिग गायिकामाथि जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पूर्ण विक्रम शाह (पल शाह) को थुनछेक सुनुवाइ स्थगित भएको छ ।

आवश्यक तयारी नपुगेको भन्दै निवेदक पल शाह पक्षकै कानुन व्यवसायीले बिहीबारका लागि तय गरिएको थुनछेक सुनुवाइ स्थगित गर्न अदालतमा निवेदन दिएपछि स्थगित भएको हो ।

जबर्जस्ती करणी अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्ने नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

दुवै जिल्ला अदालतको आदेशविरुद्ध शाह पुनरावेदन गर्न उच्च अदालत पोखरा पुगेका थिए । उच्च अदालत पोखराले यसअघि दुवै जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो ।

दुवै जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितको मिसिल आइसकेपछि उच्च अदालत पोखराले बिहीबारका लागि उक्त निवेदन दैनिक पेसी सूचीमा राखेको थियो । अब उक्त निवेदन उपर अर्को सुनुवाइका लागि मिति तोकिने छ ।

प्रतिक्रिया