काडमाडौं, १२ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्थानीय चुनाव स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा गराउन नसकेको आरोप लगाएका छन् ।
बिहीबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्दै अध्यक्ष ओलीले सरकारले निर्वाचनमा भोट पाउन मतदाताको हत्या गरिएको आरोप लगाए ।
उनले भने, ‘हाम्रो तीव्र दबाब, निर्वाचन आयोगको अडानका कारण जे होस् निर्वाचन सम्पन्न भयो । निर्वाचन भयो कसरी भने रुकुम पूर्वमा निर्वाचनमा भोट पाउन, मतदाताको हत्या गरियो ।’
स्थानीय तहको चुनावको मुखमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११, तल्लोसेराकी ३८ वर्षीया दुथी बुढा मगरको शव जंगलमा फेला परेको थियो । १९ वैशाखदेखि हराएकी मगरको २६ वैशाखमा शव भेटिएको थियो । शव भेटिएपछि रुकुम पूर्वमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप पनि भएको थियो ।
त्यसपछि माओवादी केन्द्रका नेता तथा वडा नं. ११ का वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुन बुढा र माओवादीबाट वडाध्यक्षका उम्मेदवार कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको थियो ।
अध्यक्ष ओलीले चुनाव सकिएको १४ दिन भइसक्दा पनि अझै मतगणना नसकिनुले नै चुनावमा धाँधली भएको प्रस्ट हुने बताए ।
फरक प्रसंगमा अध्यक्ष ओलीले एमाले म्याराथनमा अरुको वैशाखी टेकेर नभई आफ्नै खुट्टाले दौडिएर आएको पार्टी भएको बताए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति व्यंग्य गर्दै ओलीले भने, ‘हामीलाई सिध्याइदिन्छौँ, टर्च बालेर खोज्ने गराउँछौँ भन्नेहरूको जस्तो पार्टी एमाले होइन । एमाले कसैको वैशाखी टेकर होइन, म्याराथनमा आफ्नो खुट्टाले दौडिएर आएको पार्टी हो ।’
अध्यक्ष ओलीले एमाले वेटिङ गभरमेन्ट नभई ‘इन द रियल सेन्स’ गभरमेन्ट इन वेटिङ भएको बताए ।