काठमाडौं, ११ जेठ । अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा एमाले हार्नुको मुख्य कारण पार्टीभित्रै अन्तरघात भएको बताएका छन् ।
बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले अन्य दल नभई एमालेकै कारण चुनाव हारिएको बताएका हुन् ।
ओलीको भनाइ उद्धृत गर्दै सांसद नवीना लामाले भनिन्, ‘अरू पार्टीका कारण होइन यसपटक एमालेमा अन्तरघात भयो । यस्तो गर्न कहाँबाट सिकेछन् । यस विषयमा बृहत् रूपमा समीक्षा गरिनुपर्छ । चार महानगरमा हामीले उपमेयर जित्यौं तर मेयर जित्न सकेनौं । भकाभक उपमेयर जित्ने, मेयर हार्ने भन्ने हुँदैन ।’
ओलीले माधव नेपालको पार्टीमा समेत यस्तो अन्तरघात नभएको बताए । उनले भन, ‘अरू पार्टीमा नभएको यस्तो अन्तरघात हाम्रो पार्टीमा मात्रै कसरी भयो ? । अर्को कारण राज्यसत्ताको चरम दुरूपयोग भयो । केही ठाउँमा हाम्रा साथीहरूको हत्यासम्म भयो । लोकतन्त्रको चीरहरण गर्ने काम भयो। त्यसले पनि हाम्रो मतमा प्रभाव पा¥यो ।’
२०७४ को चुनावमा २९४ पालिका जितेको एमाले यसपालि २०३ पालिका मात्रै मेयर÷अध्यक्ष जितेको छ । यसपालि एमाले दोस्रो दल बनेको छ ।