काठमाडौं, ११ जेठ (एजेन्सी) । भारतले चिनी निर्यातमा रोक लगाएको छ । आन्तरिक बजारमा चिनीको भाउ बढेकोले यसलाई रोक्न भन्दै भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।
चिनी निर्यातमा रोक लगाउने निर्णय १ जुनदेखि अक्टोबर ३१ (चार महिना) सम्मका लागू हुने भारतको वैदेशिक व्यापार महानिर्देशनालयले जनाएको छ । विदेशमा चिनी निर्यातमा रोक लगाएपछि देशभित्रको भाउ नियन्त्रण हुने सरकारले अपेक्षा गरेको छ । तर भारतीय सञ्चारमाधयमका अनुसार अमेरिका र बेलायतमा भने चिनी निर्यातमा बन्देज लगाइएको छैन ।
भारतले चिनी निर्यातमा रोक लगाएपछि त्यसको प्रभाव नेपालमा पर्ने देखिएको छ । हाल नेपालमा औद्योगिक र उपभोग प्रयोजनको लागि वार्षिक करिब २ लाख ५० हजार मेट्रिक टन चिनी खपत भइरहेको छ । जसमध्ये करिब १ लाख ३० हजार स्वदेशी उत्पादनले धानिरहेको छ भने बाँकी विभिन्न मुलुकबाट आयात गरिन्छ । जसमध्ये भारत प्रमुख बजार हो ।
यस्तै, भारतले सूर्यमुखी र भटमासको कच्चा तेल आयातमा भने भन्सार छुटको घोषणा गरेको छ । दुई आर्थिक वर्षसम्मको लागि २० लाख मेट्रिक टन बराबरको सूर्यमुखी र भटमासको कच्चा तेल आयातमा भन्सार नलाग्ने घोषणा गरेको हो ।