राष्ट्रिय क्रिकेट खेलाडीको पारिश्रमिक बृद्धि : कति पुग्यो मासिक तलब ?
अखबार टुडे
प्रकाशित:
२०७९, ११ जेष्ठ

काठमाडौं, ११ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि गरेको छ । क्यानले पुरुष र महिला दुवै टोलीको पारिश्रमिक बृद्धि गरेको हो ।

मंगलबार क्यानको कार्यसमिति बैठकको निर्णयअनुसार पुरुष राष्ट्रिय टोलीमा रहेका तीनै ग्रेडका खेलाडीको पारिश्रमिक मासिक १० हजारका दरले बढेको हो ।

सन् २०१७ देखि क्यानले राष्ट्रिय टोलीका खेलाडीलाई तीन समूहमा वर्गीकरण गरी केन्द्रीय अनुबन्धनको व्यवस्था सुरु गरेको थियो ।

सुरुमा ए बी र सी ग्रेडका खेलाडीले क्रमसः २५, १५ र १० हजार पारिश्रमिक दिइएको थियो । क्यानको पछिल्लो निर्णयपछि नेपाली टोलीका ए ग्रेडका खेलाडीको पारिश्रमिक ६० हजार पुगेको छ भने बी र सी ग्रेडका खेलाडीले क्रमसः ५० र ४० हजार रुपैयाँ पाउने भएका छन् ।

यस्तै महिलाको हकमा ए र बी ग्रेडका खेलाडीको पारिश्रमिक मासिक ६ हजारका दरले बृद्धि गरिएको छ । सी ग्रेडका खेलाडीको ५ हजारका दरले बढेको छ ।

नयाँ पारिश्रमिकअनुसार ए ग्रेडका महिला खेलाडीले मासिक २१ हजार, बी र सी ग्रेडका खेलाडीले क्रमसः १८ र १५ हजार रुपैयाँ पारिश्रमिक पाउँछन् । क्यानले क्यालेन्डर वर्षमा गरेको प्रदर्शनका आधारमा खेलाडीको वर्गीकरण गरी पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया