रवीन्द्र मिश्रले दिए विवेकशील साझाको अध्यक्षबाट राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७९, ११ जेष्ठ

काठमाडौं, ११ जेठ। रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको निराशाजनक परिणाम आएको भन्दै रवीन्द्र मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

बुधबारबाटै लागू हुने गरी आफूले राजीनामा दिएको मिश्रले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनले भनेका छन्, ‘गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु । म पार्टीको साधारण सदस्य रहिरहने छु ।’

उनले उम्मेदवारहरू ‘इमानदार र सक्षम’ हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी आफू भएको बताएका छन् । विवेकशीलले काठमाडौं र भरतपुरसहित अधिकांश ठाउँमा उम्मेदवारी दिएको थियो । तर उम्मेदवारले अपेक्षित परिणाम भने ल्याउन सकेनन् । विवेकशील साझा पार्टीले यस पटक बाराको फेटा गाउँपालिकामा अध्यक्षसहित केही वडामा मात्र जित हात पारेको छ । फेटामा विवेकशीलका रुस्तम अन्सारी अध्यक्ष र नीलम साह उपाध्यक्षमा निर्वाचित भएका छन् ।

‘बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जान्छ,’ उनले भनेका छन्, ‘मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।’

विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेका पनि उनले आरोप लगाएका छन् । साथै विवेकशील साझाले उठाएका प्रमुख मुद्दाहरू सम्बोधन नगरेसम्म यो देशको रूपान्तरण असम्भव रहको पनि उनको भनाई छ ।

उनले आफूले प्रस्तुत गरेको ‘विचारभन्दा माथि देश’ दस्ताबेजप्रति असहमति राखेर राजीनामा दिएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन पनि आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘मैले प्रस्तुत गरेको “विचारभन्दा माथि देश” दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई–तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णय विरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजक लगायत कतिपयलाई कारबाही गरिएको थियो । सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु। त्यस्तै, सो दस्ताबेजप्रति असहमति राखेर राजीनामा दिनुभएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गर्दछु ।’

प्रतिक्रिया