अमेरिकाको टेक्ससस्थित रोब एलिमेन्ट्री स्कुलमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा १९ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, ११ जेष्ठ

काठमाडौं, ११ जेठ । अमेरिकाको टेक्सस राज्यस्थित रोब एलिमेन्ट्री स्कुलमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा १९ जनाको मृत्यु भएको छ । मंगलबार भएको सो घटनामा मृत्यु भएका १९ जनामध्ये १८ विद्यार्थी र एक शिक्षक रहेको बीबीसीले उल्लेख गरेको छ ।

१८ वर्षीय साल्भादोर रामोसले गोली चलाएको हुन सक्ने टेक्ससका गभर्नर ग्रेग एबोटले जानकारी दिएका छन् । उक्त समयमा संदिग्ध व्यक्तिसँग गोली र एआर–१५ राइफल रहेको स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । संदिग्ध आक्रमणकारीको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । मृत्यु हुने बालबालिकामा ७ देखि १० वर्षसम्मका रहेको जनाइएको छ ।

प्राथमिक विद्यालयमा गोली चलाउनुअघि ती किशोरले आफ्नी हजुरआमालाई समेत गोली हानेको जानकारी प्राप्त भएको गभर्नर एबोटले बताएका छन् ।

उक्त घटना भएको केही समयपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो किसिमको दुर्घटना विश्वमा विरलै हुने गरेको भन्दै उक्त घटनाको भर्त्सना गरेका छन् ।
‘हामी किन यस्तो घटनाबीच बाँचिरहेका छौं, हामी यस्तो दुर्घटना हुन दिइरहेका छन्‚’ राष्ट्रपति बाइडेनको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

प्रतिक्रिया