पोखरा महानगरको मेयरमा गठबन्धनका धनराज आचार्य भारी मतले विजयी
अखबार टुडे
प्रकाशित:
२०७९, ११ जेष्ठ

कास्की, ११ जेठ । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट साझा उमेदवार रहेका आचार्यले ५८८९३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२८४८ मत पाए । आचार्यले थापाले भन्दा ६०४५ मत बढी ल्याएर विजयी भएका हुन् ।

यस्तै, मेयरमा तेस्रो भएका राप्रपाका शंकर खरालले ५६७४ मत पाएका छन् भने चौथो भएका स्वतन्त्र उम्मेदवार खड्गराज पौडेल (गनेस)ले ३०३० मत पाएका छन् ।

यस्तै, उपमेयरमा एमालेका मञ्जुदेवी गुरुङ विजयी भएका छन् । कांग्रेसका कोपिला रानाभाटलाई पराजित गर्दै मञ्जु विजयी भएकी हुन् । मञ्जुले ६० हजार ५४६ मत ल्याउँदा कोपिलाले ५६ हजार ६६३ मत पाइन् ।

उपमेयरमा राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ५६९९ मत पाएर तेस्रो भएकी छन् । विवेकशील साझा पार्टीका माधव भण्डारीले २६४ मत पाएका छन् ।

प्रतिक्रिया