पोखरा महानगर- १८ मा पुनः मतगणना गर्न एमालेको माग
अखबार टुडे
प्रकाशित:
२०७९, १० जेष्ठ

पोखरा, १० जेठ । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नं १८ मा पुनः मतगणना गर्न माग गरेको छ ।

वडा नम्बर १८ मा मत कम आएको भन्दै उक्त दलले पुनः मत गणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको हो ।

उक्त वडाको आज बिहान अन्तिम नतिजा घोषणा हुँदा तीन मत अन्तरले नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार उम्मेदवार शिवप्रसाद तिमल्सिना विजयी भएको घोषणा गरिएको थियो ।

उक्त वडामा पुनःमतगणनाका लागि माग गर्दै एमालेबाट निवेदन आएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए । निवेदनका सम्बन्धमा निर्वाचन कानुनअनुसार अघि बढ्ने उनले बताए ।

महानगरमा खसेको कूल १ लाख ४३ हजार २२६ मतमा अब करिब ५ हजार मत गन्न बाँकी छ । महानगरका वडा नं २२, ३२ र ३३ को मतगणना बाँकी रहेको जनाइएको छ । हालसम्म २२ वटा वडामा कांग्रेस विजयी भएको छ भने आठवटा वडामा एमाले विजयी भएको छ ।

हालसम्म एक लाख ३८ हजार २११ मत गणना भइसकेकामा गठबन्धनका तर्फबाट महानगरको प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ५६ हजार ४७१ मत प्राप्त गरेको छ । उनका निकटतम प्रतिस्पर्धी कृष्ण थापाले ५१ हजार १८५ मत प्राप्त गरे ।

उमप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५८ हजार ५८२ मतसहित अघि छन् भने गठबन्धनका तर्फबाट कांग्रेसकी कोपिला रानाभाटले ५४ हजार ५४७ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया