वीरगञ्ज, १० जेठ । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह मेयर र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् ।
एमालेका उम्मेदवार विजयकुमार सरावगीभन्दा २२ हजार ५५५ मत बढी ल्याएर राजेशमान मेयरमा निर्वाचित भएका हुन् । ३२ वटै वडाका मतगणना सकिँदा राजेशमानले ४६ हजार २१५ मत पाउँदा विजयले २३ हजार ६७१ मतमात्रै पाए ।
वीरगञ्जमा एक लाख २४ हजार ६४७ मतदाता रहेकोमा ७५.२४ प्रतिशत अर्थात ९३ हजार ७ सय ८२ मत खसेको थियो ।
अघिल्लो पटक तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट मेयरमा उठेका राजेशमान सरावगीसँग पराजित भएका थिए । तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा उठेका विजयले १९, ३९३ मत ल्याउँदा राजेशमान १२, १६५ मत ल्याएर तेस्रो भइका थिए ।
यसपटक दुवैले दल बदलेर चुनावी मैदानमा आएका थिए । राजेशमान लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर जसपामा पुगेका हुन् भने विजय जसपा त्यागेर एमालेबाट उम्मेदवार बनेका हुन् ।
राजेशमान एमालेमा जाने लगभग निश्चित भइसकेको थियो तर एमालले विजयलाई पार्टी प्रवेश गराएपछि उनी जसपामा गए । विजय कांग्रेसमा जान चाहेपनि वास्था नभएपछि एमालेमा गएर मेयर लडेका हुन् ।
यस्तै उपमेयरमा निर्वाचित इम्तियाजले ३० हजार ७८ मत पाएका छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ९५६८ मतमात्रै पाएका छन् । राप्रपाकी चिना जैसवालले ५९८८ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३९०९ मत ल्याएका छन् ।
वीरगञ्जमा ३२ वटा वडा छन् । १३ वटा वडामा जसपा, ९ वटामा कांग्रेस, ८ मा एमाले र २ लोसपाले जितेको छ ।