भरतपुर महानगरको मेयरमा दोस्रो कार्यकालका लागि रेनु विजयी
अखबार टुडे
प्रकाशित:
२०७९, १० जेष्ठ

चितवन, १० जेठ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छन् । उनी ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि मेयर पदमा विजयी भएकी हुन् ।

रेनु दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर चुनिएकी थिइन् । यस्तै यसपटक पनि उनले एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतले पछि पारिन् । सुवेदीले ३९ हजार ५८१ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मतसहित विजयी भएका छन् । उनले राप्रपाका उम्मेदवार हिमला गुरुङलाई २२ हजार १९१ मत अन्तरले हराएका हुन् । हिमलाको पक्षमा ३० हजार ६१२ मत परेको छ ।
भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका दलहरुले तालमेल गरेपछि नेकपा एमाले र राप्रपाले पनि तालमेल गरेर प्रतिस्पर्धा गरेका थिए ।

नेपाली कांग्रेसले भरतपुर महानगरका १६ वटा वडा जितेको छ । वडा नम्बर १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९ नम्बर वडा अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका हुन् । ३, ११, १२, १८, १९ र २८ गरी ६ वटा वडा नेकपा एमालेले जितेको छ ।

माओवादी केन्द्रले वटा वडाको वडाध्यक्ष पद जितेको छ । १३, २४ र २६ नम्बर वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी हुँदा एकीकृत समाजवादीले ७, ९ र २२ नम्बर वडाको नेतृत्व जितेको छ । स्वतन्त्र उम्मेदवार २५ नम्बर वडामा विजयी भएका छन् ।

विजयी भएका जनप्रतिनिधिहरुलाई जिल्ला समन्वय समितिको हलमा सपथ ग्रहणको कार्यक्रम राखिएको छ

प्रतिक्रिया