विभिन्न आठ अध्यादेश स्वीकृत, राष्ट्रियसभाको अर्को बैठक मंगलबार बस्ने
अखबार टुडे
प्रकाशित:
२०७९, ९ जेष्ठ

काठमाडौं, ९ जेठ । राष्ट्रियसभाको सोमबारको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृत गरेको छ ।

बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७९, स्वास्थ्यकर्मी तथा सवास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ लाई स्वीकृत गरेको हो ।

यी आठ वटै अध्यादेशलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाडले विभिन्न आठ अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकको अन्त्यमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार (भोलि) अपराह्न ४ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारका तर्फबाट प्रस्तुत हुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेकाले निर्धारित समयभित्रै सांसदहरुलाई उपस्थितिका लागि निर्देशन समेत दिएको छ । राष्ट्रियसभाको अर्को बैठक मङ्गलबार साँझ ६ बजे बस्ने भएको छ ।

प्रतिक्रिया