काठमाडौंको उपमेयर पदमा मतगणना दोहोर्याउन गठबन्धनका उम्मेदवार श्रेष्ठको निवेदन
अखबार टुडे
प्रकाशित:
२०७९, ९ जेष्ठ

काठमाडौं, ९ जेठ । काठमाडौं महानगरका लागि गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले उपमेयर पदमा दोहोर्याएर मतगणना गर्न माग गरेका छन् ।

कलम र रूख चिन्हमा मत संकेत भएका मतपत्रमा आफू उम्मेदवार भएको कलम चिन्हको मत संकेतलाई सदर मानी मतगणना दोहो¥याउनुपर्ने भन्दै उनले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।

श्रेष्ठले निवेदनमा भनेका छन्, ‘स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७,१९,२२,२४ र २६ को भावना र मनशाय अनुसार हुनेगरी प्रतिष्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मत संकेत भएका मतपत्रमा म उम्मेदवार भएको कलम चिन्हको मत संकेतलाई सदर मानी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५२ बमोजिम तत्काल पुन दोहो¥याइ मतगणना गरी गणना हुन बाँकी मतपत्र समेत यसै कानुनी आधारमा गणना हुन मतदान (मतगणना) अधिकृतलाई आदेश गरिपाऊँ।’

मतसंकेतलाई बदर गर्दा जित्ने मान्छे हार्ने र उपविजेता हुने मान्छे जित्ने भएको भन्दै श्रेष्ठले आपत्ति जनाएका छन् । ‘उम्मेदवार नभएको निर्वाचन चिन्हमा मात्र मत संकेत गरिएको मतपत्रलाई सो पदको हदसम्म मात्र बदर गर्नुपर्नेमा प्रतिष्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मतसङ्केत भए पनि म उम्मेदवार भएको कलम चिन्हको मतसङ्केतलाई समेत बदरगरी गणना गरेको र यसबाट मतपरिणाममा असर परी, उपविजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्थाको गणितीय अवस्था देखापरेको छ,’ उनले भनेका छन् ।

काठमाडौं महानगरपालिकामा उपमेयर पदमा ठूलो संख्यामा मत बदर भएको बताइएको छ । सेतोपाटीले आइतबार दिउँसोसम्मको गणनामा मात्र ३६ हजार मत बदर भएको समाचार प्रकाशित गरेको थियो । जारी मतगणनामा उपमेयर उम्मेदवार एमालेकी सुनिता डंगोलले ४४७०५ मत ल्याएकी छन् भने रामेश्वर श्रेष्ठले १५६७० मत ल्याएका छन् ।

प्रतिक्रिया