काठमाडौं, ९ जेठ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आगामी असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा पुनःउम्मेदवारी दिने घोषणा गरेका छन् ।
एन्फाको वर्तमान अध्यक्षसमेत रहेका शेर्पाले आज पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
सो क्रममा उनले यसअघि कोभिडका कारण सोचेअनुरुप काम गर्न नसके पनि आगामी दिनमा नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने बताए ।
वर्तमान अध्यक्ष शेर्पाले पहिलो कार्यकालमा धेरै काम सुरु भएको र ती कामलाई पूर्णता दिन तथा नेपाली फुटबललाई अझै माथि उठाउनका लागि पनि आफूले फेरि उम्मेदवारी दिएको बताए ।
चार वर्षअघि शेर्पा आफ्नो प्यानलसहित एन्फा नेतृत्वमा निर्वाचित भएका थिए । एन्फाको आसन्न निर्वाचनका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भइसकेको छ ।
यसअघि पङ्कज नेम्वाङले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् । उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले उम्मेदवारीको घोषणा गरेका छन् ।