ताइवानमा अमेरिकी सेना पठाउने बाइडेनको चाहाना
अखबार टुडे
प्रकाशित:
२०७९, ९ जेष्ठ

काठमाडौं, ९ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको सुरक्षाका लागि अमेरिकी सेना प्रयोग गर्न चाहेको बताएका छन् । राष्ट्रपति बनेपछि जापानको पहिलो भ्रमणका क्रममा बाइडेनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

टोकियोमा जापानी प्रधानमन्त्री फुमियो किशिदासँगको संयुक्त पत्रकार सम्मेलनमा बाइडेनलाई युक्रेन मुद्दामा स्पष्ट अडान नराखेपनि ताइवानको रक्षा गर्न सेना पठाउने हो कि भनेर सोधिएको थियो । यस प्रश्नको जवाफमा बाइडेनले भने, ‘हो । हामीले यो वाचा गरेका छौं ।’

बाइडेनको भनाइलाई निकै महत्वपूर्ण मानिएको छ, तर अमेरिकाले ताइवानका सम्बन्धमा आफ्नो नीति परिवर्तन नगरेको बीबीसीले जनाएको छ । बाइडेनले भने, ‘ताइवानप्रतिको अमेरिकी नीतिमा कुनै परिवर्तन भएको छैन र अमेरिकी प्रशासन अझै पनि “एक चीन नीति“ मा अडिग छ तर ताइवानलाई बलपूर्वक लिनु ठीक होइन । यसले सम्पूर्ण क्षेत्रमा अराजकता ल्याउनेछ ।’
बाइडेनले चीनलाई ताइवानमा प्रवेश गर्ने र बल प्रयोग गरेर कब्जा गर्ने अधिकार नभएको पनि बताए ।

बाइडेनले चीन र ताइवानको बारेमा यस्तो बयान गरेको यो पहिलो पटक भने होइन । गत वर्ष पनि बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए ।

तर, यसपछि बाइडेनले स्पष्टीकरण दिएका थिए । त्यसबेला ह्वाइट हाउसका प्रवक्ताले बाइडेनको टिप्पणीलाई स्पष्ट पार्दै अमेरिकाले आफ्नो नीतिमा कुनै परिवर्तनको घोषणा नगरेको बताको थियो ।

चीन र ताइवानबीचको तनाव ऐतिहासिक हो । सन् १९४० को दशकमा गृहयुद्धका क्रममा चीन र ताइवान विभाजित भएका थिए । त्यसबेलादेखि, ताइवानले आफूलाई स्वतन्त्र देश भन्दछ, जबकि चीनले यसलाई एक स्वायत्त प्रान्तको रूपमा हेर्छ र आवश्यक भएमा बलियो विलयको कुरा गर्छ । ताइवानको आफ्नै संविधान, प्रजातान्त्रिक रूपमा निर्वाचित नेताहरू र करिब तीस लाख सक्रिय सैनिकहरू छन् ।

प्रतिक्रिया