काठमाडौं, ८ जेठ । स्थानीय तह निर्वाचन–२०७९ को हालसम्म ७०५ पालिकाको मतरिणाम आइसकेकोछ । गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटै पालिकामा निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन भएकामध्ये अब ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
आइतबार बिहान १० बजेसम्म आएका मतपरिणामअनुसार सबैभन्दा बढी प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएका छन् ।
कांग्रेसले हालसम्म ३११ पालिकाको प्रमुख तथा अध्यक्ष जितिसकेको छ भने मतगणना भइरहेकामध्ये १४ पालिकामा अग्रता लिइरहेको छ ।
यस्तै, एमालेले हालसम्म १९० पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ भने १६ वटा पालिकामा प्रमुख तथा अध्यक्षमा अग्रता लिइरहेका छन् । यस्तै, माओवादीका उम्मेदवार १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष पदमा विजयी बनिसकेको छ भने २ पालिकामा अग्रता लिइरहेका छन् ।
जनता समाजवादी पार्टी, नेपालले हालसम्म २७ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ भने जारी मतगणनामा ३ पालिकामा जनता समाजवादी पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।
यस्तै, नेकपा एकीकृत समाजवादीले १७ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ भने दुईवटा पालिका प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
एकीकृत समाजवादीले अग्रता लिइरहेको कास्कीको पोखरामा जित सुनिश्चित जस्तै देखिएको छ । यस्तै, तोकतान्त्रिक समाजवादी पार्टी, नेपालले हालसम्म १२ पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् भने ५ वटामा अग्रता लिइरहेका छन् ।
निर्वाचन आयोगका अनुसार हालसम्म २८ पालिकाको प्रमुख तथा अध्यक्ष पद अन्य दल तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् । मतगणना भइरहेकामध्ये तीन पालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् ।