बलात्कारको आरोेप लागेका मनोज पाण्डे पक्राउ, मानव बेचबिखनविरूद्ध मुद्धा चलाउने तयारी
अखबार टुडे
प्रकाशित:
२०७९, ७ जेष्ठ

काठमाडौ, ७ जेठ । एक किशोरीमाथि बलात्कारको आरोपमा पक्राउ गरिएका ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’का सञ्चालक मनोज पाण्डेविरूद्ध प्रहरीले मानव बेचबिखन तथा नियन्त्रण ऐनअनुसार अनुसन्धान र कारबाही चलाउने तयारी गरेको छ ।

शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई स्वयम्भूबाट पक्राउ गरेको थियो । यसबारे प्रहरीले आधिकारिक जानकारी दिइसकेको छैन ।

शनिबार र आइतबार सार्वजनिक विदा भएकाले प्रहरीले अनुसन्धानको अनुमति लिन सोमबारमात्र उनलाई अदालत लैजाने स्रोतले जनाएको छ । त्यसरी अनुमति लिन जाँदा प्रहरीले के विषयमा अनुसन्धान गर्ने भनेर तयारी गरिसक्नुपर्छ ।
प्रहरी स्रोतका अनुसार उनीमाथि बलात्कारको आरोप भएपनि त्यसमा हदम्यादको प्रश्न छ । तर कसुरको प्रकृति हेर्दा मानव बेचबिखनसम्बन्धी कानुन पनि आकर्षित हुन्छ । त्यसैले मानव बेचबिखनमै कारबाही बढाउनेबारे छलफल र तयारी चलिरहेको छ ।

पाण्डेमाथि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ । आठ वर्ष पुरानो घटना भएकाले कानुनअनुसार उजुरी गर्न हदम्याद गुज्रिसकेको छ ।

आठ वर्षअघि आफूमाथि बलात्कार भएको भन्दै ती युवतीले सामाजिक सञ्जालमा मार्फत सार्वजनिक गरेका थिए । त्यसपछि प्रहरीले समिति नै बनाएर अनुसन्धान सुरु गरेको थियो ।

युवतीले आफूमाथि बलात्कार भएको भन्दै भिडिओमार्फत् घटना सार्वजनिक गरेकी थिइन् । यो घटनाबारे संसदमा पनि कुरा उठेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिएका थिए ।

सामाजिक सञ्जालमा युवतीको भिडिओ आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि यो घटना पछ्याइरहेको थियो ।

प्रहरी उपरीक्षक कृष्ण कोइराला र परामर्शदातासहितको टोली ती बालिकालाई भेट्न उनकै घर पुगेको थियो । टोलीले ती बालिकालाई जाहेरी दिन सकिने प्रक्रियाबारे र यसमा आकर्षित हुने मुद्दाहरूबारे जानकारी गराएको थियो ।

अहिले यस घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवर, प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सदस्य छन् ।

प्रतिक्रिया