एमाले उपाध्यक्ष पौडेलको गृहनगर बुटवलमा २५ वर्षपछि कांग्रेसको पुनरागमन
अखबार टुडे
प्रकाशित:
२०७९, ७ जेष्ठ

बुटवल, ७ जेठ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय निर्वाचित भएका छन् ।

पाण्डेले एमालेका उम्मेदवार बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गरेका हुन् ।

पाण्डेयले ३० हजार १३० मत पाएर निर्वाचित हुँदा एमालेका भट्टराईले २२ हजार ५९७ मत पाएका छन् ।

पाण्डेयलाई सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

पाण्डेयको यो जितसंगै बुटवलको नेतृत्वमा २५ वर्षपछि कांग्रेसले पुनरागमन गरेको छ । बुटवलमा २०५४ सालयताका सबैजसो चुनावमा नेकपा एमालेले जित्दै आएको थियो । बुटवलमा पाण्डेले जितेसँगै आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको शक्तिसमेत एमालेबाट खोसिने संकेत देखिएको छ ।

यस्तै, उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्याल निर्वाचित भएकी छन् । एकीकृत समाजवादीका चिनबहादुर गुरुङलाई सात हजार ९२२ मतले पराजित गर्दै अर्याल निर्वाचित भएकी हुन् । अर्यालले २४ हजार ९०४ मत पाएर निर्वाचित हुँदा गुरुङले १६ हजार ९८० मत पाएका छन् ।

बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नं १०, ११, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।

प्रतिक्रिया