मारिऊपोलमा युक्रेनी सेनाद्वारा आत्मसमर्पण, पूर्णरुपमा कब्जा भएको रुसको दाबी
अखबार टुडे
प्रकाशित:
२०७९, ७ जेष्ठ

काठमाडौं, ७ जेठ । रुसले महिनौँदेखि युक्रेनी बन्दरगाह सहर मारिऊपोलमाथि विजय हासिल गर्ने आफ्नो प्रयास सफल भएको दाबी गरेको छ ।

शुक्रबार मारिऊपोलमा रहेको आजोभ्स्टाल स्टील उद्योगको रक्षा गरिरहेका बाँकी युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरेपछि पूर्णरुपमा कब्जामा आएको रुसले जनाएको हो ।

रुसी रक्षा मन्त्रालयका अनुसार ५३१ युक्रेनी लडाकुहरू त्यहाँबाट हटेपछि मारिऊपोल र सो स्टील उद्योग अहिले पूर्णतः मुक्त भएका छन् । एक विज्ञप्तिमा भनिएको छ, ‘लडाकुहरू लुकिरहेको उक्त उद्योगका भूमिगत क्षेत्रहरू पनि रुसी सशस्त्र बलको पूर्ण नियन्त्रणमा आएको छ ।’

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि रुसको घोषणको पुष्टि भएको संकेत गरेका छन् । उनले त्यहाँ खटेका अन्तिम सुरक्षाकर्मीहरूलाई उक्त स्थान छाड्न आदेश दिइएको बताए ।

शुक्रवार एउटा टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले भने, ‘आज सैनिक कमान्डबाट उनीहरूलाई स्पष्ट सन्देश दिइयो कि उनीहरूले त्यहाँबाट बाहिर निस्किन र आफ्नो ज्यान जोगाउन सक्छन् ।’

महिनौँसम्म उक्त विशाल औद्योगिक क्षेत्रमा रहेका युक्रेनी लडाकुहरूले रुसलाई सो सहरमाथि पूर्ण रूपमा नियन्त्रण कायम गर्न रोकिरहेका थिए ।

रुसी सैनिकहरूले त्यस क्षेत्रमा सबै मानवीय सहायतालाई अवरोध पु¥याउँदै त्यहाँ गोलाबारी गर्दै आएका थिए । उनीहरूले त्यहाँ सुरक्षार्थ खटिएका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न भनिरहेका थिए ।

उक्त क्षेत्रमा फस्नेमध्ये कैयौँ गैरसैनिक नागरिक थिए । तीमध्ये महिला, बालबालिका र ज्येष्ठ नागरिक पनि पर्छन् । – बीबीसीबाट

प्रतिक्रिया