मुख्य प्रशिक्षक अल्मुताइरीलाई जिम्मेवारीबाट हटाउन सिफारिस
अखबार टुडे
प्रकाशित:
२०७९, ६ जेष्ठ

काठमाडौं, ६ जेठ । फुटबल खेलाडी र प्रशिक्षकको विवाद छानबिन गर्न गठित समितिले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ ।

छानविन समितिले एएफसी कप छनोटको समापनसँगै कतारसँग परामर्श गरेर प्रशिक्षक परिवर्तन गर्न एन्फालाई सुझाव दिएको हो ।

समितिले मुख्य प्रशिक्षक अल्मुताइरीले खेलाडीहरूको व्यक्तिगत जीवनमा पनि चासो राख्ने गरेको पनि निष्कर्ष निकालेको छ । साथै छानबिन समितिले प्रशिक्षक आफै अस्वस्थ रहेको बयानको क्रममा बताएको उल्लेख गर्दै अल्मुताइरी अहिलेको जिम्मेवारी सम्हाल्न नसक्ने अवस्थामा भएको बताएको छ ।

समितिले प्रशिक्षकले बारम्बार अमर्यादित शब्द प्रयोग गरेर खेलाडीलाई बन्द प्रशिक्षणबाट निस्कन बाध्य बनाएको समेत प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै छानविन समितिले घटनाको मुख्य दोषी व्यवस्थापक रहेको ठहर गर्दै व्यवस्थापक परिवर्तन गर्न माग गरेको एन्फा स्रोतले बताएको छ । वर्तमान राष्ट्रिय टिमको व्यवस्थापकमा मधुसुदन उपाध्याय रहेका छन् ।

केही साताअघि राष्ट्रिय टोलीका उपकप्तान रोहित चन्दले टिमका लागि राम्रो खाना र बस्ने व्यवस्थाको विषयमा कुरा उठाएपछि प्रशिक्षक अलमुताइरीसँग खटपट भएको थियो । प्रशिक्षक अल्मुताइरीसँगको विवादपछि रोहित चन्दले बन्द शिविर छाडेका थिए । त्यसको दुई दिनपछि अन्य ९ जना खेलाडीले पनि बन्द शिविर छाडेका थिए । अल्मुताइरीले नै आफूहरुलाई बन्द शिविर छाड्न निर्देशन दिएपछि निस्किएको खेलाडीहरुको दावी छ ।

यता मुख्य प्रशिक्षक अल्मुताइरीले आज बन्द प्रशिक्षणबाट १० खेलाडीलाई निकालेको विवाद समाधान हुनुअघि आसन्न एसिएन कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । अल्मुताइरीले शुक्रबार विद्रोही खेलाडीलाई बाहिर राखेर ठूला प्रतियोगिता खेल्ने टिम घोषणा गरेका छन् ।

प्रतिक्रिया