काठमाडौं, ६ जेठ । काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई झनै फराकिलो बनाउँदै लगेका छन् ।
पछिल्लो मतगणना अनुसार साह २८, ८८२ मतसहित अग्रता लिएका छन् । उनलाई राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । स्थापितले हालसम्म १५ हजार ३ सय १२ मत पाएका छन् । मत परिणाम अनुसार साह स्थापितभन्दा १३ हजार ५७० मतले अघि छन् ।
यस्तै, सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १४,७९८ मत पाएकी छन् । उनी दोस्रो स्थानका रहेका स्थापित भन्दा ५१४ मतले पछि परेका छन् । साहभन्दा सिर्जना १४ हजार ८४ मतले पछि परेका छन् ।
काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये ८ वटा वडाको मतगणना सकिएको छ । हालसम्म वडा नम्बर १, २, ३, ४, ५, २८, ३०, र ३२ वडाको मतगणना सकिएको हो । अहिलेसम्म काठमाडौंमा ७३ हजार ९ सय ९ मत गणना भइसकेको छ ।
