नेपाल मान्छे बेच्ने, मालसामान किन्ने देश भयो: गगन थापा
अखबार टुडे
प्रकाशित:
२०७९, ६ जेष्ठ

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रिय उद्योगहरुको उत्पादन प्रवद्र्धन गर्ने विशेष योजना कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा जारी रहेको छलफलकै क्रममा उनले भने, ‘निर्वाचन क्षेत्र केन्द्रित र लोकप्रीय नारामा मात्रै सीमित हुनुहुँदैन । व्यापार घाटा बढ्दो छ । नेपाल मान्छे बेच्ने, मालसामान किन्ने देश भएको छ । भान्सामा पाक्ने सबै कुरा सबै विदेशबाट आएको छ । तर, हामी कृषि प्रधान देशका हौं । औद्योगिकीकरण फस्टाउन सकेको छैन । राष्ट्रिय उद्योगहरुको उत्पादन प्रवद्र्धन गर्ने विशेष योजना कार्यक्रम चाहियो ।’

सांसद थापाले २०७९ देखि २०८९ लाई राष्ट्रिय उत्पादन बढाउने दशकका रुपमा मनाउनुपर्ने बताए ।

फरक प्रसंगमा उनले सुन्दरी प्रतियोगितामा भाग लिएकी किशोरीमाथि भएको यौनहिंसाको छानबिनको माग गरेका छन् । उनले भने, ‘एक किशोरीमाथि यौनहिंसा भएको घटना बाहिर आएको छ । हदम्यादको कुरा उठेको छ । संहितामा भएको हदम्यादको विषयमा पुनरविचार गर्न आग्रह गर्न चाहन्छु ।’

सांसद थापाको ध्यानाकर्षणका आधारमा सभामुख सापकोटाले यौन हिंसाका दोषीलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।

केही वर्ष पहिले एक युवतीलाई मोडलिङका नाममा यौन हिंसा गरेको भन्ने विषय पीडितले नै सार्वजनिक गरेपछि दोषीलाई कारवाही गर्न माग गरिएको छ । दोषीमाथि कारवाहीको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडिसमेत अधिकारकर्मीले आज प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया