काठमाडौं, ५ जेठ । काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत एक नगरपालिकाको मतगणना सकिँदा मेयर उपमेयरसहित सो क्षेत्रमा पर्ने सबै वडामा कांग्रेसले पराजय भोग्नुपरेको छ ।
महामन्त्री गगन थापाले दुईपटक प्रत्यक्ष र एकपटक समानुपातिक निर्वाचन जितेको सो क्षेत्रमा कांग्रेसले पराजयभोग्नु परेको हो ।
बुढानिलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा एमालेका मिठाराम अधिकारी तथा अनिता लामा फराकिलो मतान्तरले विजयी भएका छन् । गगनको क्षेत्रमा पर्ने बुनपाका वडा नम्बर १, २, ८, ९, १०, ११, १२ र १३ मा वडाध्यक्षसहित प्रायः सबै सदस्यसमेत एमालेले नै जितेको छ ।
वडा नम्बर १ बाट एमालेका सुरेन्द्र लामा वडाध्यक्ष जितेका छन् । त्यस्तै २ बाट राजेन्द्र श्रेष्ठ, ८ बाट सुमन तामाङ, ९ बाट सुमित्रा त्रिपाठी पाण्डे १० बाट नवराज भट्टराई, ११ बाट राजु अधिकारी, १२ बाट शम्भु भट्टराई र १३ बाट टिकेशनारायण श्रेष्ठ जितेका छन् ।
त्यस्तै गगनको क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी भइसकेका छन् । अब गणना भइरहेका ७, ८ र ३० को परिणाम आउन बाँकी छ ।