जुम्लाको ८ वटै पालिकामा एमालेको हार
अखबार टुडे
प्रकाशित:
२०७९, ५ जेष्ठ

काठमाडौं, ५ जेठ । नेकपा एमालेले जुम्लाको ८ वटै पालिकामा हार वेहोरेको छ । विहीबार बिहान सकिएको मतगणना अनुसार एमालेले यहाँका कुनै पनि पालिकाको प्रमुख र उपप्रमुख जित्न नसकेको हो ।

८ पालिकामध्ये नेपाली कांग्रेसले ५ र नेकपा माओवादी केन्द्रले २ पालिकाको प्रमुख जितेका छन् । एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

जिल्लाको एकमात्र नगरपालिका चन्दननाथको मेयरमा स्वतन्त्र उम्मेदवार राजुसिङ कठायत निर्वाचित भएका छन् । कठायतले २ हजार ४ सय ३ तथा पराजित काग्रेसका पदमबहादुर शाहीले २ हजार ३ सय ४१ मत प्राप्त गरे । उपमेयरमा कांग्रेसका रामदेवी खड्का निर्वाचित भइन् ।

कनकासुन्दरी गाउँपालिका अध्यक्षमा कांग्रेसका दामोदर प्रसाद आचार्य २ हजार ८ सय ६ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका धनबहादुर रावतले २ हजार ५ सय ६३ मत प्राप्त गरे । यहाँको उपाध्यक्षमा कांग्रेसकै प्रेमकली बुढा विजयी भइन् ।

यस्तै सिंजा गाउँपालिका अध्यक्षमा माओवादीका पूर्णप्रसाद धिताल विजयी भएका छन् । उनले १ हजार ९ सय ४१ मत प्राप्त गरे । दोस्रो भएका कांग्रेसका नन्दराम बुढाले १ हजार ८ सय ३१ मत पाए । उपाध्यक्षमा पनि सिरली रोकाया निर्वाचित भएकी छन् ।

हिमा गाउँपालिका अध्यक्षमा कांग्रेसका लक्ष्मण बहादुर शाही र उपाध्यक्षमा कांग्रेसकै सुपर्ना शाही निर्वाचित भएका छन् । दुवैले क्रमशः १ हजार ८ सय ७२ र १ हजार ५ सय १८ मत प्राप्त गरे ।

तिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादीले जितेको छ । अध्यक्षमा मोतिलाल रोकाया (१९३६ मत) उपाध्यक्षमा गोरिकला बोहोरा (२०२२ मत) निर्वाचित भएका हुन् ।

तातोपानी गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार नन्दप्रसाद चौलागाई निर्वाचित हुँदा उपाध्यक्ष माओवादीका रेवती रावलले जितेकी छन् । चौलागाईले २ हजार ३ सय २० मत र रावलले १ हजार ७ सय ५८ मत ल्याए ।

यस्तै पातारासी गाउँपालिका अध्यक्षमा कांग्रेसका पूर्णसिङ बोहोरा २ हजार ७ सय ६८ मतसहित विजयी हुँदा उपाध्यक्षमा माओवादीका जनमाया रोकायाले २ हजार ७ सय २५ मत ल्याएर िजितन् ।

गोठिचौर गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष नेकपा एकिकृत समाजवादीले जितेका छन् । अध्यक्ष निर्वाचित दानबहादुर बुढाले १ हजार ७ सय ७५ र उपाध्यक्ष शान्ती कुमारी मल्ल भन्डारीले १ हजार ५ सय ३ मत ल्याए ।

प्रतिक्रिया