नौ महिनापछि एमालेको संसद अवरोध अन्त्य
अखबार टुडे
प्रकाशित:
२०७९, ३ जेष्ठ

काठमाडौं, ३ जेठ । स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदमा सहभागी भएको छ ।
झण्डै नौ महिनादेखि एमालेले संसद बैठक अवरोध गर्दै आएको थियो । तर, मंगलबार बोलाइएको बजेट अधिवेशनको पहिलो दिन एमालेले अवरोध गरेन । यससँगै ९ महिनादेखि जारी एमालेको संसद अवरोध अन्त्य भएको छ ।

एमालेले आफ्नो दलले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको भन्दै गत २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो । एमालेको संसद अवरोधका कारण केही विधेयक पास भएपनि संसद प्रभावकारी हुन सकेको थिएन ।

मंगलबार संसद बैठक सुरु हुनासाथ विशेष समय लिएर बोलेका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अदालतले कारबाही नगरेपनि भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले उचित ढंगले फैसला गरेका छन् भन्ने लागेको बताए । उनले भने, ‘विभाजनका कारकहरुको परिणामलाई हामीले हेरिरहेका छौँ ।’

निर्वाचनले मुलुक एउटा कोर्षमा गएकाले संसदको अवरोध हटाउने निर्णय गरेको उनको भनाइ छ ।
दल विभाजनका लागि जस्केलाबाट अध्यादेश ल्याउनु र उद्देश्य पूरा भएपछि फिर्ता लिनु, त्यसमा सभामुख, अदालत जस्ता संवैधानिक निकाय सहयोगी जस्तो बन्नु गलत हो भन्ने एमालेको अडान कायमै रहेको पनि उनले बताए ।

प्रतिक्रिया