मिक्लाजुङमा एमालेका गढ भत्कियो, अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी
अखबार टुडे
प्रकाशित:
२०७९, ३ जेष्ठ

मोरङ, ३ जेठ । मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बवीकुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका छन् । मंगलबार विहान सार्वजनिक मत परिणामअनुसार राईले अध्यक्षमा ८२५३ मत र पौडेलले उपाध्यक्षमा ५६२६ मत ल्याएर निर्वाचित भएका हुन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यस पटक गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । एमालले मिक्लाजुङ्ग आफ्नो गढको रूपमा लिने गरेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा हार भएको छ । यहाँका एमालेका उम्मेदवार नरेन्द्र प्रसाद ढुङ्गेल अध्यक्षमा पराजित भए । उनले ४९१६ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा एमालेकी निर्मला राई ५४५५ मत ल्याएर पराजित भइन् । पालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा फरक पार्टीका पुरुष उम्मेदवार विजयी भएका हुन् । मिक्लाजुङ्गका गाउँपालिकाको ९ वडामा काँग्रेसले पाँच, माओवादी केन्द्र र एमालेले २-२ वडा जितेका छ ।

मिक्लाजुङ्ग १ मा काँग्रेसका पर्वत राईले ९२१, २ मा काँग्रेसका बलबहादुर श्रेष्ठले ६०६ मत, ३ मा एमालेका सन्तोष कुमार मगरले ८९८ मत, ४ मा काँग्रेसका विशाल राईले ९०८ मत, ५ मा मेघनाथ तामाङले ३८१ मत, ६ मा काँग्रेसका खडीबहादुर मगरले ११२२ मत, ७ मा एमालेका सुशिलराज चौहानले ८७१ मत, ८ मा माओवादीका पूर्ण बहादुर कुवरले ८०० मत र ९ मा काँग्रेसका सेमन्त राज दाहालले ६३४ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया