भरतपुरको अवरुद्ध मतगणना करिब दुई घण्टापछि पुनः सुरु
अखबार टुडे
प्रकाशित:
२०७९, २ जेष्ठ

चितवन, २ जेठ । भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । सोमबार साँझ कुन मत बदर हुने र कुन नहुने भन्नेबारे विवाद भएपछि अवरुद्ध बनेको मतगणना करिब २ घण्टापछि पुनः सुरु भएको हो ।

सर्वदलीय बैठकमा मतगणनामा कमजोरी गर्ने कर्मचारीलाई अब सहभागी नगराउने तथा यसअघि भएका निर्णयलाई सदर गरेर अघि बढ्नेबारे सहमति भएको छ ।

नेकपा एमालेका प्रतिनिधिहरूका अनुसार एक नम्बरको मतगणना स्थलमा एकै पदका उम्मेदवारको चुनाव चिह्न सूर्य र हलोमा छाप लगाउँदा मत बदर गरिएको तर ७ नम्बरको गणनास्थलमा सोही प्रकृतिको मतपत्र बदर नगरिएपछि तनावको अवस्था सिर्जना भएको थियो ।

यसबारेमा मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीसँग राय लिइएपछि बदरको निर्णय सुनाएका थिए । त्यसपछि एमालेका प्रतिनिधिले ‘कर्मचारी बायस्ड र एकपक्षीय छ’ भन्ने आरोप लगाउँदै होहल्ला गर्न थालेका थिए ।
भरतपुर महानगरपालिकामा एमाले र माओवादी केन्द्रका मेयरका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया