स्थानीय तह निर्वाचन-२०७९ : सोमबारसम्म १३ हजारभन्दा बढी जनप्रतिनिधि चुनिए
अखबार टुडे
प्रकाशित:
२०७९, २ जेष्ठ

काठमाडौं, २ जेठ । यही ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सोमबारसम्म निर्विरोधसहित १३ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित भइसेका छन् ।

सोमबार निर्वाचन आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबारसम्म निर्विरोधसहित १३ हजार ५ सय ८२ जना उम्मेदवार निर्वाचित भएको जानकारी दिएका हुन् ।

तीमध्ये प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३ र उपाध्यक्ष ११७ जना निर्वाचित भएका छन् । वडाध्यक्ष २ हजार ६७९, वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८ र दलित महिला सदस्य २ हजार ६४७ जना निर्वाचित भएको प्रवक्ता शर्माले जानकारी दिए ।

आयोगले देशभर १३० वटा स्थानीय तहको निर्वाचनको सम्पूर्ण परिणाम आइसकेको जनाएको छ । आयोगका अनुसार विभिन्न कारणले मतदान स्थगित भएका ठाउँमा सोमबार मतदान भएको छ । धनकुटाको शहीदभूमि गाउँपालिका–६ को ठाकुरदेवी मा.वि., सप्तरीको रुपनि गाउँपालिका–५ को गाविस भवन, रामेछापको खाँडादेवी गाउँपालिका–१ को वडा कार्यालय भवन र सुर्खेतको सिम्ता गाउँपालिका–३ को भगवती मा.वि.मा सोमबार मतदान भएको प्रवक्ता पौडेलले बताए ।

बझाङको केदारस्यु गाउँपालिका–४ को जगन्नाथ उच्च मा.वि., बझाङको सुर्मा गाउँपालिका–२ को आधार बगर मा.वि. र बझाङको सुर्मा गाउँपालिका–३ कृष्ण प्रा.वि. मतदान केन्द्रमा पनि सोमबार शान्तिपूर्णरुपमा मतदान भएको आयोगले जनाएको छ । सार्वजनिक भएका मतपरिणामबाहेक अहिले देशभर मतगणना भइरहेको छ।

प्रतिक्रिया