बुद्धको जन्मस्थल लुम्बिनीमा श्रद्धा अर्पणको मौका पाउँदा सम्मानित महसुस गरिरहेको छु : मोदी
अखबार टुडे
प्रकाशित:
२०७९, १ जेष्ठ

काठमाडौं, १ जेठ । लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाखौं भारतीयजस्तै आफूपनि भगवान बुद्धको जन्मस्थल तथा मायादेवी मन्दिरमा पूजाअर्चना गर्न उत्सुक रहेको जनाएका छन् ।

प्रधानमन्त्री मोदीले आइतबार वक्तव्य जारी गर्दै बुद्धको जन्मस्थलमा श्रद्धा अर्पणको मौका पाएर सम्मानित महसुस गरिरहेको उल्लेख गरेका छन् ।
सोही अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने भेटका लागि पनि आफू उत्सुक रहेको जनाउँदै भनेका छन्, ‘गत महिना प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा हामीबीच उपयोगी कुराकानी भएको थियो; त्यसपछि उहाँसँग फेरि भेट्ने मौकाका लागि उत्सुक छु ।’
उनले नेपालसँग जलविद्युत्, विकास र कनेक्टिभिटीसहित कयौं क्षेत्रमा सहयोगको विस्तारका लागि साझा धारणा निर्माणको काम जारी बताएका छन् । करिब डेढ महिना अगाडि अप्रिल १ देखि ३ मा देउवाले भारत भ्रमण गरेका थिए ।

प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरको दर्शन, लुम्बिनी क्षेत्रमा निर्माण गरिने इन्डिया इन्टरनेसनल फर बौद्ध कल्चर एन्ड हेरिटेजको शिलान्याश गर्नेछन् । त्यसपछि नेपाल सरकारद्वारा बुद्ध जयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधन तथा समकक्षी देउवाको भेटवार्ता र डेलिगेसन लेभलको बैठकमा मोदीको सहभागिता रहने कार्यक्रम छ ।

उनी बुद्ध जयन्तीको अवसरमा सोमबारका दिन लुम्बिनी आउने लागेका हुन् । मोदीले लुम्बिनीमा मुस्किलले ४ देखि ५ घण्टाको अवधि बिताउने छन् । उनी लुम्बिनीबाटै सोमबार भारत फर्किने कार्यक्रम छ । प्रधानमन्त्रीका रुपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हो ।

प्रतिक्रिया