न्यूयोर्कमा एक किशोरले एउटा सुपरमार्केटमा अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, १ जेष्ठ

काठमाडौं, १ जेठ । अमेरिकाको न्यूयोर्क राज्यमा एक किशोरले एउटा सुपरमार्केटमा अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ ।
प्रहरीले उक्त घटनालाई जातीय रूपमा प्रेरित घृणायुक्त अपराधको रूपमा अनुसन्धान भइरहेको जनाएको छ ।

बीबीसीले जनाएका अनुसार बफलो सहरमा घटनास्थलबाटै १८ वर्षीय किशोरलाई पक्राउ गरिएको छ । तर, प्रहरीले उनको नाम खुलाएको छैन । ती सन्दिग्ध व्यक्तिले शनिबार दिउँसो व्यस्त सुपरमार्केटमा प्रवेश गरेर गोली चलाएको अन्तर्राष्ट्रिय समाचारहरुले उल्लेख गरेका छन् ।

अनलाइनमा प्रत्यक्ष प्रसारण

प्रहरीका अनुसार ती किशोरले आफूले गरेको आक्रमण अनलाइनमा प्रत्यक्ष प्रसारण गर्न क्यामराको प्रयोग गरेका थिए । संघीय अनुसन्धान ब्यूरो एफबीआईले उक्त हमलालाई ‘हिंसक अतिवादी कृत्य’ को सङ्ज्ञा दिएको छ ।

पत्रकार सम्मेलनमा एफबीआईको बफलो कार्यालयका प्रमुख स्टीभन बेलोङ्गियाले भने, ‘हामीले यस घटनालाई घृणा फैलाउने अपराध र जातीय रूपले प्रेरित हिंसक अतिवादजस्ता दुवै पक्षबाट अनुसन्धान गरिरहेका छौँ ।’ ती सन्दिग्ध कैयौँ घण्टा सवारी चलाएर उक्त सहरस्थित अश्वेत समुदायको बाहुल्य रहेको क्षेत्रमा पुगेको बताइएको छ ।

कुल १३ जनालाई गोली लागेकोमा अधिकांश व्यक्ति अश्वेत समुदायका भएको बफलोका प्रहरी प्रमुखले बताएको बीबीसीले उल्लेख गरेको छ । घाइते भएका तीन जना पनि सुपरमार्केटका कर्मचारी हुन् । यद्यपि उनीहरूलाई ज्यान जोखिम पर्ने खालको गम्भीर चोट नभएको जनाइएको छ ।

प्रतिक्रिया