मनाङमा चारै स्थानीय तहको सकियो मतगणना, एमाले र कांग्रेस दुई–दुई स्थानीय तहमा विजयी
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ बैशाख

मनाङ, ३१ बैशाख । मनाङ जिल्लाका सबै स्थानीय तहको मतगणना सकिएको छ । मनाङमा चार स्थानीय तह रहेका छन् ।

मनाङका चामे र मनाङ ङिस्याङ गाउँपालिकामा एमालेका अध्यक्ष निर्वाचित हुँदा नासोँ र नार्पाभूमि गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा भने फरक–फरक पार्टी र स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । मनाङमा कांग्रेसले माओवादी र एमालेले स्वतन्त्र उम्मेदवारसँग चुनावी तालमेल गरेका थिए ।

चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन् । उनले ३ सय २० मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत प्राप्त गरेका थिए ।

चामेको उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३ सय २५ मत प्राप्त गर्दा एमालेकी उपाध्यक्ष उम्मेदवार आशाकुमारी गुरुङले २ सय ७४ मतामात्र प्राप्त गरेकी थिइन् ।

नार्पा भूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जीङ लामा निर्वाचित भएका छन् । उनले १ सय ५८ मत ल्याएर निर्वाचित हुँदा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत ल्याए । नार्पाको उपाध्यक्षमा भने एमालेका मेङमर फुन्चो लामा निर्विरोध निर्वाचित भएका थिए ।
मनाङको तेस्रो स्थानीय तह नासोँ गाउँपालिका अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ ८ सय २० मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्षमा भने माओवादी केन्द्रका वेदबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले ९ सय १३ मत ल्याएका छन् । यो गाउँपालिकामा कांग्रेस र माओवादीको तालमेल थियो ।

अध्यक्षमा एमालेका मनबहादुर गुरुङ पराजित भएका थिए । उनले ६ सय ४७ मत प्राप्त गरेका थिए । एमालेको समर्थन पाएका उपाध्यक्षका स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले भने ४ सय ९६ मतामात्रै ल्याएका थिए ।

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा एमालेले जित हासिल गरेको छ । निर्वाचन आयोगका अनुसार ङिस्याङ गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याई निर्वाचित भएका थिए ।

उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले)लाई १४८ मतान्तरले पराजित गरेका हुन् । पराजित छिरिङ ओङमा गुरुङ (घले)ले ७ सय १३ मत ल्याएकी छन् । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ निर्वाचित भएका हुन् । एमालेको समर्थन पाएका उनले ७ सय ४४ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया