स्थानीय तह निर्वाचन : दोलखाको दुई मतदानस्थलमा झडप, १३ राउण्ड गोली चल्यो
अखबार टुडे
प्रकाशित:
२०७९, ३० बैशाख

दोलखा, ३० बैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत दोलखाको वैतेश्वर गाउँपालिकामा मतदान स्थगित भएको छ । मतदानका विषयमा दुई पक्षीय झडप हुँदा मतदान स्थगित भएको हो ।

वैतेश्वर कालिढुंगा मावि मतदान केन्द्रमा विवाद भएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए ।
यस्तै मेलुङ गाउँपालिकाको वडा नम्बर ४ स्थित मतदान केन्द्रमा पनि तनाव भएपछि हवाई फायर भएको छ । दुई स्थानमा गरी १३ राउण्ड हवाई फायर भएको दोलखाका एसपी गंगा पौडेलले जानकारी दिए ।
दुवै स्थानमा मतदान स्थगित भएको छ भने अवस्थामा सामान्य बनाउन सर्वदलीय छलफल चलिरहेको छ ।

हुम्लामा ७ राउण्ड गोली चल्यो, मतदान अधिकृतसहित २ जना घाइते

यस्तै, हुम्लामा मतदानका क्रममा झडप भएको छ । एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली चलाएको छ ।
स्थानीयको ढुंगामुढाबाट मतदान अधिकृतसहित २ जना घाइते भएका छन् । माथिल्लो हुम्लाको तंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा सो तनाव भएको हो ।
ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

रामेछापको दुई मतदान केन्द्रमा झडप

यस्तै, रामेछापको दुई स्थानमा गोली चलेको छ । दुई पक्षीय झडप हुँदा मतदान प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए ।

दोरम्बा सैलुङ गाउँपालिकाको मानपुरकृष्ण मावि मतदान केन्द्रमा दुई पक्षीय झडप हुँदा एक राउण्ड गोली चलेको उनले बताए ।
यस्तै खाँणदेवी गाउँपालिका स्थित वडा नम्बर १ राकाथममा मतदान केन्द्रमा दुई पक्षीय झडपलाई नियन्त्रणमा लिन ७ राउण्ड हवाइ फायर भएको उनले बताए । दुबै स्थानमा मतदान सुचारु गराउन पहल भइरहेको छ ।

प्रतिक्रिया