स्थानीय तह निर्वाचन : एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा
अखबार टुडे
प्रकाशित:
२०७९, ३० बैशाख

काठमाडौं, ३० बैशाख । देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान सुरु भएको छ । आज बिहान ७ बजेबाट मतदान सुरु भएको हो । मतदान ५ बजेसम्म जारी हुनेछ ।

सरकारले गत माघ २४ गते स्थानीय तहको निर्वाचन आजका लागि गर्ने निर्णय गरेको थियो । संविधान जारी भएपछि पहिलोपटक विसं २०७४ वैशाख ३१ गते पहिलो चरण र जेठ ३१ मा दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भएको थियो । देश संघीयतामा गएको यो दोस्रो चरणको स्थानीय तहको निर्वाचन हो ।

देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको हो । मतदान कार्य आज अपराह्न ५ बजेसम्म जारी रहनेछ । आफ्नो जनप्रतिनिधि छनोटका लागि मतदाता मतदान केन्द्रमा पुगी लामवद्ध भइरहेका छन् ।
आजको ऐतिहासिक निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख÷उपप्रमख, अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार २२१ निर्वाचित हुनेछन् ।

यसअन्तर्गत छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एक÷एक अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडामा वडाध्यक्ष, सोही सङ्ख्यामा महिला र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुनेछन् ।

स्थानीय तह सदस्य निर्वाचनमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । यसपटकको निर्वाचनमा बिहीबारसम्म १८ वर्ष उमेर पूरा भएका बालिग मतदाताले मतदानको अवसर पाएका छन् ।

प्रदेश १ मा ३३ लाख ४७ हजार ३४८, मधेसमा ३३ लाख, ३१ हजार १७०, बागमतीमा ३४ लाख १२ हजार ८६९, गण्डकीमा १७ लाख ८९ हजार ४११, लुम्बिनीमा ३२ लाख १९ हजार ४५७, कर्णालीमा १० लाख एक हजार २८२ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता रहेका छन् ।

निर्वाचनमा ८९ हजार ३१३ पुरुष र ५५ हजार ६९८ महिला गरी कूल एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया