निर्वाचन आयोगले भन्यो- निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो
अखबार टुडे
प्रकाशित:
२०७९, २९ बैशाख

काठमाडौं, २९ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिएका हुन् ।
निर्वाचन भयमुक्त र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आयोगले गत मंगलबार रातिदेखि नै मौनअवधि लागू गरेको थियो । मौनअवधिमा आचारसंहिताको पालनाका लागि नियमित अनुगमन संयन्त्रले काम गरिरहेको उनको भनाइ ।

मौनअवधिमा भएका आचारसंहिता उलंघनका घटनामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट समेत प्राप्त सूचनालाई आयोगले जानकारीमा लिएको बताए ।

उनका अनुसार आचारसंहितासँग सम्बन्धित विषयमा ६६ वटा स्पष्टीकरण, ९ वटा सचेत र १ वटा ध्यानाकर्षणका निर्णय भएको छ ।
यही क्रममा आचारसंहिताको उलंघन हुने गरी क्रियाकलाप गरेको भन्दै आयोगले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्र बागमती प्रदेश सदस्य गंगा दाहाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

शुक्रबार हुने निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेका छन् भने ६ वडा अध्यक्ष सहित ३५ जना स्वतन्त्र सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरूबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले जम्मा ३५ हजार २ सय २१ जना मध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनौट गर्नका लागि मतदान गर्दैछन् ।

प्रतिक्रिया