स्थानीय तह निर्वाचन : पाँच लाख बढी मानिस उपत्यकाबाट बाहिरिए
अखबार टुडे
प्रकाशित:
२०७९, २८ बैशाख

काठमाडौं, २ड बैशाख । स्थानीय तह निर्वाचनमा मतदानका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने मानिसको संख्या अरू समयमाभन्दा तेबरले बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

संघीय राजधानीबाट बाहिरिने प्रमुख नाकाहरूमध्ये नागढुङ्गा, साँगा र दक्षिणकालीमा सवारीसाधनको लाइन देखिएको छ ।
ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक बालनरसिंह रानाले बुधबार बिहान ५ बजेदेखि साँझसम्म १२ घण्टाको अवधिमा मात्रै उपत्यकाबाट बाहिरिनेको संख्या ६७ हजारभन्दा धेरै रहेको बीबीसी न्यूज नेपालीलाई बताएका छन् ।

उनका अनुसार पहिले साधारण अवस्थामा २० हजारको हाराहारीमा यात्रुहरू बाहिरिन्थे । तर बुधवार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म ६७,५४४ बाहिएका छन् । यस्तै, मंगलवार पनि करिब ७० हजार मानिस काठमाडौं उपत्यकाबाट बाहिरिएका थिए ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार वैशाख २१ यता पाँच लाख बढी मानिस र ८० हजार बढी निजी तथा सार्वजनिक सवारी साधन काठमाण्डू उपत्यकाबाट बाहिरिएका छन् ।

सवारीसाधनको चाप र तीव्र गतिका कारण दुर्घटना बढ्न सक्ने भन्दै निगरानीका लागि ट्राफिक प्रहरीले अन्य सुरक्षाकर्मीको पनि सहयोग लिएको जनाएको छ ।

स्थानीय निर्वाचनमा मतदान गर्न गाउँ फर्केपछि काठमाडौंका सडकमा भने भीड पातलिएको छ । सधै साँझ र बिहान ट्राफिक जाम हुने उपत्यका सडकहरु सुनसान जस्तै बनेको छ । यही ३० बैशाख अर्थात शुक्रबार स्थानीय तहको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया