महिलाको अपहरण गरी हत्या गरेको आरोपमा तीन माओवादी कार्यकर्ता पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, २८ बैशाख

रुकुम, २८ बैशाख । एक महिलालाई अपहरण गरी हत्या गरेको आरोपमा पूर्वी रुकुममा जनप्रतिनिधिसहित तीन नेकपा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन् ।

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुन बुढा र माओवादीबाट वडाध्यक्ष उम्मेदवार कुमार सिंह बुढालाई रुकुम प्रहरीले नियन्त्रणमा लिएको हो ।

यही १९ वैशाखमा स्थानीय टक्सेरा गाउँमा निर्वाचन प्रचार प्रसारका क्रममा भएको विवाद मिलाउन पुगेकी स्थानीय ३९ वर्षकी डुथी बुढा भन्ने जुङमाया बुढालाई माओवादी कार्यकर्ताहरुले अपहरण गरेको आरोप छ ।

अपहरणमा परेकी भनिएकी बुढाको शव रुकुम प्रहरीले टक्सेरादेखि करिब चार किलोमिटर माथि जंगलमा फेला पारेको थियो । ती महिलाको कानमा रगत बगेको र निर्वस्त्र अवस्थामा शव फेला पारिएको रुकुम प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएको पुथाउत्तरगंगामा माओवादी केन्द्रसँग पटक पटक विवाद र दुई समूहबीच झडपसमेत हुँदै आएको छ ।

मृतक जुङमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टमका लागि ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया