आज रातिदेखि काठमाडौं उपत्यकामा मदिरा बिक्री वितरणमा रोक लगाइँदै
अखबार टुडे
प्रकाशित:
२०७९, २७ बैशाख

काठमाडौं, २७ बैशाख । काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आज मंगलबार रातिदेखि मदिरा बिक्रीमा रोक लगाइने भएको छ । मौनअवधि सुरू भएदेखि निर्वाचन नसकिउन्जेलसम्म मदिरा किनबेचमा रोक लगाइने भएको हो ।

यही ३० वैशाख अर्थात शुक्रबार हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै तीनै जिल्ला प्रशासन कार्यालयले मदिरा बिक्रीमा रोक लगाउने जनाएका हुन् । मदिराजन्य पदार्थको सेवनले शान्ति सुरक्षामा दखल पर्ने भन्दै प्रशासनले वैशाख ३० गते चुनाव अवधिभर मदिराजन्य पदार्थ किनबेचमा रोक लगाएको हो ।

जिल्ला प्रशासाको सूचनामा भनिएको छ, ‘स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि मिति २०७९ वैशाख २७ गते मंगलबार राती १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्य नगर्नू/नगराउनू होला ।’

स्थानीय तह निर्वाचनका लागि मंगलवारराति बाट मौनअवधि लागू सुरु हुँदैछ । सो अवधिभर प्रचारप्रसारलगायतका गतिविधिमा निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया