महाराजगञ्ज नगरपालिकाको कांग्रेसका उपमेयर उम्मेदवारको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, २७ बैशाख

कपिलवस्तु, २७ बैशाख । महाराजगञ्ज नगरपालिकाका उपमेयरकी उम्मेदवार सुभावती कुर्मीको मृत्यु भएको छ । सोमबार दिनभरी घरदैलो कार्यक्रममा सहभागी भएर आएकी कुर्मीको सोमबार राति मृत्यु भएको हो ।

उनका देवर रामकृष्ण चौधरीका अनुसार राति एक्कासी छातीमा समस्या आएपछि उनलाई तौलिहवा अस्पताल पुर्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।

२०७४ को निर्वाचनमा उपमेयरमा निर्वाचित कुर्मी यसपटक पनि नेपाली कांग्रेसका तर्फबाट उपमेयर पदमा उम्मेदवार बनेकी थिइन् ।
उम्मेदवार कुर्मीको मृत्युबारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले जानकारी दिए । आयोगको निर्देशन अनुसार बाँकी निर्वाचन प्रकृया अघि बढाइने उनले बताए ।

स्थानीय तह निर्वाचन ऐन २०७३ मा व्यवस्था भएअनुसार उम्मेदवारको मृत्यु भए निर्वाचन स्थगित हुनेछ । मतदानको मिति सात दिनभन्दा कम भएको अवस्थामा नयाँ निर्वाचन कार्यक्रम बनाएर मतदान गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया