आज मध्यरातिदेखि मौन अवधि सुरु (यस्तो छ आचारसंहिता)
अखबार टुडे
प्रकाशित:
२०७९, २७ बैशाख

काठमाडौं, २७ बैशाख । स्थानीय तह निर्वाचन अब तीन दिनमात्र बाँकी छ । स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज (मंगलबार) मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ ।

यही ३० वैशाख अर्थात शुक्रबार मतदान हुँदैछ । मतदान हुन ४८ घण्टाअघि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसारका सामग्री हटाउन निर्देशन दिएको छ ।

निर्वाचनको मौन अवधिअगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ । सामाजिक सञ्जालमा रहेका आचारसंहिताविपरीतका चित्र, पोष्ट हटाउन आयोगले निर्देशन दिएको छ ।

यस्तै, नयाँ सामग्री पोष्ट नगर्न निर्देशन दिन आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । मतदानका दिन वैशाख ३० गते यातायातका साधन बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन भने सञ्चालनमा रहनेछन् ।

प्रतिक्रिया