श्रीलङ्कामा राष्ट्रव्यापी विरोध तीव्र, प्रधानमन्त्रीद्वारा राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७९, २६ बैशाख

काठमाडौं, २६ वैशाख (एजेन्सी) । राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् ।

राष्ट्रपति गोटबाया राजापाक्षेले शुक्रबार विशेष बैठकमा प्रधानमन्त्रीलाई देशमा जारी राजनीतिक सङ्कटको समाधानका लागि राजीनामा दिन आग्रह गरेको केही दिनपछि यस्तो निर्णय भएको हो ।

यो कदमले संकटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्को लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ । श्रीलङ्काको डेली मिररले जनाएअनुसार प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति राजापाक्षेले संसद्मा रहेका सबै राजनीतिक दललाई सर्वदलीय मन्त्रिपरिषद् गठन गर्न आमन्त्रण गर्ने अपेक्षा गरिएको छ ।

यसअघि विपक्षी दल समगी जन बालवेगयाले आफ्ना नेता सजिथ प्रेमदासाले अन्तरिम सरकारमा प्रधानमन्त्रीको पद स्वीकार नगर्ने पुष्टि गरेका थिए ।

श्रीलङ्का हाल विदेशी मुद्राको अभावबाट उत्पन्न भएको आर्थिक सङ्कटबाट गुज्रिरहेको छ जसले इन्धन, खाद्यान्न र औषधि जस्ता अत्यावश्यक आपूर्तिहरूको अभाव निम्त्याएको छ ।

सरकार र सांसद्लाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि आन्दोलन जारी छ । श्रीलङ्काको राजधानी कोलम्बोमा प्रदर्शनकारीबीच भएको झडपका कारण तनाव उत्पन्न भएपछि सोमबार प्रहरीले कर्फ्यू लगाइएको छ ।

प्रतिक्रिया