मैले बोलेको बुझ्ने बुद्धिजीवी नेपालमा थोरै मात्रै छन्: अध्यक्ष ओली
अखबार टुडे
प्रकाशित:
२०७९, २६ बैशाख

काठमाडौं, २६ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा आफुले बोलेको बुझ्ने बुद्धिजीवी थोरै मात्रै रहेको बताएका छन् ।

आज पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले ओलीले भने, ‘मैले बोलेको त बुझ्ने बुद्धिजीवी थोरै मात्रै छन् कि क्या हो नेपालमा जस्तो लाग्छ । मैले कहाँ शास्त्रका कुरा गर्छु, उसले उखान टुक्का भन्छ ।’

कांग्रेसका नेताहरूले आफ्ना भनाइलाई उखान टुक्का नबुझेर भनेको भएपनि बुद्धिजीवीले त्यस्तै बोलेकोमा ओलीको आपत्ति थियो । उनले भने, ‘कांग्रेसका नेताहरूले उखानटुक्का भन्नु त ठीकै थियो, उनीहरू बुझ्दै बुझ्दैनन् । तर अरुले पनि, कतिपय केही मान्छे छन् सो कल्ड बुद्धिजीवी । उनीहरू पनि उखानटुक्का भन्छन् । आफूले देश बनाउने नीति, प्रतिबद्धताको कुरा हो । उखानटुक्का होइन ।’

ओलीले एमालेलाई बाहिरबाट ‘खत्तम पार्ने प्रयास’ भएको आरोप लगाए । उनले थप भने, ‘एमालेलाई खत्तम पार्ने प्रयास भए । बाहिरबाट हमला भए । बदानाम गर्न खोजियो, चरित्र हत्या गर्न खोजियो, एमालेका नीति बंग्याएर प्रस्तुत गरियो ।’

ओलीले आफू ‘एमालेको ड्राइभिङ सिट’मा बसेकाले विकासका काम तीव्र पार्ने पनि बताए । ओलीले मतगणना सुरक्षाप्रति आशंका व्यक्त गरेका छन् । उनले कार्यकर्ताहरूलाई मतपेटिकालाई आँखाबाट ओझेलमा पर्न नदिन पनि निर्देशन दिएका छन् । उनले प्रहरी प्रशासनलाई निष्पक्ष भूमिका खेल्न आग्रह गरे ।

प्रतिक्रिया