कांग्रेसबाट धोका हुन सक्छ : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, २६ बैशाख

धनगढी, २६ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले गठबन्धनभित्र कांग्रेसबाट धोका हुन सक्ने बताएका छन् ।

सोमबार बिहान कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धन दलभित्रको सहमतिविपरीत कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिन खोजेको भन्दै आशंका व्यक्त गरेका हुन् ।

उनले भने, ‘बेइमानी र षडयन्त्र स्वीकार्य हुँदैन । कांग्रेसले यहाँ पनि गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएको छ । त्यसलाई खारेज नगर्ने हो भने हामी एक्लै चुनाव लड्नुपर्छ । यो अवस्थामा हाम्रोतर्फबाट उपाध्यक्ष पदमा परेको उम्मेदवारलाई जिताउनुपर्छ ।’

उनले धेरै स्थानमा गठबन्धन ‘क्लियर’ नभएको समेत बताए । ‘गठबन्धन भन्दैमा झुक्ने काम गरिन्न, हामीले एक्लैले पनि चुनावमा जानुपर्छ, पार्टीका उमेदवार जस्तोसुकै अवस्थामा आएपनि हामीले जिताउनुपर्छ,’ प्रचण्डले भने ।

कैलारी गाउँपालिकामा गठबन्धनको सहमति माओवादीलाई अध्यक्ष र उपाध्यक्षमा कांग्रेसलाई उम्मेदवार बनाउने भन्ने थियो । तर‚ सहमति बन्नुअगावै कांग्रेसबाट टिकट पाइसकेका रामसमज चौधरीले अध्यक्ष पदमा उम्मेदवारी दिए । पार्टीले प्राविधिक कारणले उनको उम्मेदवारी रद्द गराउन सकेको थिएन । गठबन्धनले उनलाई आधिकारिक उम्मेदवार भने मानेको छैन ।
कांग्रेसको उम्मेदवारीपछि उपाध्यक्षमा माओवादीकी लक्ष्मी सत्वगौवा चौधरीले पनि उम्मेदवारी दिएकी छन् । उनले पनि अहिलेसम्म उम्मेदवारी फिर्ता लिएकी छैनन् । माओवादीले पनि गठबन्धनको सहमतिविपरीत सत्गौवा चौधरीका लागि मत मागिरहेको छ ।

कालिकोट, सुदूरपश्चिमको डोटी र बैतडीमा पनि प्रचण्डको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ । त्यसपछि धनगढीमा आजै गठबन्धनको संयुक्त चुनावी सभा छ । त्यो चुनावी सभाका लागि प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा धनगढी आइसकेका छन् ।

प्रतिक्रिया