निर्वाचनको दिन पत्रकारलाई सवारी साधन चलाउन कोटा
अखबार टुडे
प्रकाशित:
२०७९, २६ बैशाख

काठमाडौं, २६ वैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सवारी अनुमति पत्र बोकेका गाडीहरु मात्र गुड्न पाउने भएका छन् । पत्रकारहरुले भने सम्बन्धित सञ्चारमाध्यमका लागि छुट्याइएको कोटाको आधारमा सवारी अनुमति पत्र (पास) पाउने छन् ।

निर्वाचन आयोगका अनुसार मतदानको दिन मतदातालाई सवारी साधन प्रयोग गरी ओसारपसार गर्न पाइँदैन । तर निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गाडीहरु भने गुडाउन पाइनेछ । उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई भने मुख्य निर्वाचन अधिकृतको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट पास उपलब्ध गराइन्छ ।

शारीरिक रूपमा अशक्त व्यक्तिहरुका लागि मतदान स्थलसम्म आउ(जाउ गर्न पनि अनुमति प्राप्त सवारीसाधन प्रयोग गर्नुपर्छ । त्यसरी आउ–जाउ गर्दा अशक्त व्यक्तिको साथमा आफ्नै परिवारको एकजना सदस्य रहन पाउनेछ ।

यस्तै अत्यावश्यक सेवाका एम्बुलेन्स, खानेपानीका ट्यांकर, दमकल, दूरसञ्चार, शववाहन, अस्पताल, विद्युत् तथा नीलो नम्बर प्लेट प्रयोग भएको कूटनीतिज्ञहरुको गाडीहरुलाई भने सवारी पासको अनुमति लिनुपर्दैन । तर विदेशी नम्बर प्लेटका कुनै पनि सवारीसाधन प्रयोग गर्न नपाइएको भएको छ ।

यस्तै संवैधानिक आयोग, तिनका जिल्ला तथा प्रदेश कार्यालयका प्रतिनिधि, कूटनीतिक नियोग र नियोगबाट खटिने अवलोकनकर्ता, आयोगबाट आमन्त्रित अतिथि, राष्ट्रसंघीय नियोगका प्रतिनिधि, निर्वाचन आयोगले खटाएका अनुगमनकर्ता, साझेदार निकाय, अन्तर्राष्ट्रिय संघसंस्थालगायतले निर्वाचन आयोगले पास लिनुपर्छ ।

अन्य सरकारी कार्यालय र निजी कार्यालहरूलाई भने नियमन गर्ने निकायको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार मतदानको दिन दुई पांग्रे वा चार पांग्रे सवारी साधन प्रयोग गर्ने पत्रकारहरुले पनि सूचना विभागको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्नेछ । काठमाडौं उपत्यकाका पत्रकारहरुको हकमा सूचना विभागको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयबाट पास वितरण हुनेछ ।

सञ्चार माध्यमहरुलाई सवारी पासका लागि कोटा छुट्याइएको छ । ब्रोडसिट दैनिक पत्रिकालाई कार्यालय प्रयोजनका लागि बढीमा ५ र समाचार संकलनका लागि बढीमा २० वटा पास पाइनेछ ।

अरू दैनिक पत्रिकाहरुलाई कार्यालय प्रयोजनमा ५ र समाचार संकलनमा १० वटा पास तथा साप्ताहिक पत्रिकालाई बढीमा ३ वटा पास छुट्याइएको छ । टीभीले बढीमा १०, रेडियोरएफएमले कार्यालय प्रयोजनका लागि एउटा र समाचार संकलनका लागि ७ वटा सवारी पास पाउने छन् ।

यस्तै अनलाइनहरुलाई कार्यालय प्रयोजनका लागि दुईवटा र समाचार संकलनका लागि ५ वटा पासको कोटा छुट्याइएको छ ।
फोटोपत्रकारका लागि प्रत्येक संस्थालाई बढीमा ७ र राष्ट्रिय समाचार समिति (रासस)का लागि बढीमा ५ वटासम्म पास जारी गर्ने गरी कोटा निर्धारण गरिएको छ ।

निर्वाचन आयोगले जारी गरेको सवारी साधन व्यवस्थापन मापदण्डमा काठमाडौं उपत्यका बाहिरका सञ्चारमाध्यमका लागि सूचना विभागबाट जारी पास वा पत्रकार महासंघ जिल्ला शाखाको सिफारिसमा बढीमा ५÷५ वटाको दरले जिल्ला प्रशासन कार्यालयबाट पास लिन सक्ने उल्लेख छ ।

निर्वाचन आयोगले जारी गरेको सवारी साधन व्यवस्थापन मापदण्ड अनुसार सवारी अनुमति पत्र लिनका लागि यही वैशाख २८ गतेसम्म निवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया